नेप्से संचालक समितिले गर्यो नयाँ ब्रोकरलाई सदस्यता दिने सँगै ‘नेप्से ३०’ इन्डेक्स आन्तरिक परिक्षण गर्ने निर्णय

 

नेपाल स्टक एक्सचेन्ज ”नेप्से” को संचालक समितिले नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिने सँगै ‘नेप्से ३०’ इन्डेक्स आन्तरिक रुपमा परिक्षण गर्ने निर्णय गरेको छ।

उक्त निर्णय सँगै नयाँ ब्रोकरलाई सदस्यता दिनेदेखि नेप्से ३० इन्डेक्स परिक्षण गर्न बाटो खुलेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मेरो लगानीलाई बताए।

नेप्सेले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय सँगै अब आउने दिनमा सबै नयाँ ब्रोकरले सदस्यता पाउने छन्। नेप्सेले अहिलेसम्म १७ नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिइसकेको छ। उनीहरुलाई नेप्सेले कारोबार सदस्यता दिने प्रक्रिया समेत अघि बढाउने छ। नेप्सेले ताेकेको मापदण्ड पुर्याउने ब्रोकर कम्पनीले सदस्यता पाउने छन्।

नेप्सेका अनुसार नयाँ ब्रोकर कम्पनीले सबै मापदण्ड पुर्याएसँगै पूर्वाधार शुल्क स्वरुप पाँच लाख रुपैयाँ धरौटी राख्नु पर्छ। त्यसैगरि सदस्यता शुल्क स्वरुप छुट्टै १० हजार रुपैयाँ तिर्नु पर्छ भने आफ्नै टिएमएस राख्नको लागि थप एक लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ। एक लाखसँगै मासिक १५ हजार रुपैयाँ समेत लाग्ने नेप्सेको भनाई छ। तर नेप्सेको टिएमएस राख्ने भए मासिक २५ हजार रुपैयाँ तिरे पुग्ने नेप्सेको भनाई छ।

तिर्नु पर्ने सबै शुल्क तिरेपछि नयाँ ब्रोकरले सदस्यता पाउने छन्। उनीहरुले नेप्सेको सदस्यता लिएसँगै सिडिएससीमा समेत राफसाफको लागि सम्झौता गर्नु पर्छ। अनि मात्रै नयाँ ब्राेकरले कारोबार सुरु गर्न सक्छन्।

उता नयाँ इन्डेक्स पनि नेप्सेले परिक्षण गर्ने छ। अहिलेको लागि भने आन्तिक रुपमा मात्रै नेप्से ३० इन्डेक्स परिक्षण गरिने छ। उक्त परिक्षण सकिएपछि पुनः संचालक समितिमा जाने छ। संचालक समितिले नियमित कारोबारमा लैजाने अनुमति दिएसँगै लगानीकर्ताले उक्त इन्डेक्स हेर्न पाउने नेप्सेले जनाएको छ। अहिले आउने इन्डेक्स ट्रेडेबल भने हुने छैन।



No comments

Powered by Blogger.