एप्पलकाे शेयर रेकर्ड स्तरमा, करिब १९० डलर पुग्याे शेयर


 अमेरिकाकाे बहुराष्ट्रिय टेक कम्पनी एप्पलको शेयर रेकर्डस्तरकाे उचाइमा पुगेको छ । बुधबार २८ जुनमा एप्पलको शेयर १.१९ डलर अथवा ०.६३ प्रतिशतले बढेर १८९.२५ डलरमा पुग्याे। यो सँगै एप्पलको बजार पूँजीकरण पनि करिब ३ ट्रिलियन डलर (२.९८ ट्रिलियन डलर) पुगेको छ ।

रिफाइनिटिभ डाटाका अनुसार,यो एप्पलकाे शेयरले लगातार दोस्रो पटक रेकर्ड उच्च स्तर छाेएकाे हो। हालसम्म एप्पलले ३ ट्रिलियन डलरभन्दा बढीको बजार पुँजीका साथ काराेबार बन्द गरेको छैन। २०२२ जनवरी ३ मा एप्पलको बजार पूँजीकरण इन्ट्रा-डे ट्रेडिङमा ३ ट्रिलियनभन्दा बढी पुगेकाे थियाे र ट्रेडिङ सत्र बन्द हुँदा त्यो स्तरभन्दा तल झरेकाे थियाे।

किन बढ्यो एप्पलको शेयर ?

यस वर्ष वाल स्ट्रिटका अन्य टेक्नोलोजीसँग सम्बन्धित कम्पनीहरूकाे रिबाउन्ड बलियो हुँदा संसारको सबैभन्दा ठुलाे कम्पनी एप्पलको शेयरमा बढाेत्तरी आएकाे हाे। फेडरल रिजर्भले चाँडै नै अमेरिकी ब्याज दर घटाउन सक्ने र आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को आशाजनक भविष्य हुन सक्ने कारणले  पनि एप्पलको शेयरमा उछाल देखिएको हाे ।

सन् २०२३ मा एप्पलको शेयर ४६ प्रतिशतले बढ्याे

सन् २०२३ मा मात्रै एप्पलको शेयर ४६ प्रतिशतले बढेको छ। सोही अवधिमा इनभेडिया (Nvidia) को शेयर १८५ प्रतिशतले बढेको छ। यसकासाथै इनभेडिया पनि १ ट्रिलियन डलरभन्दा बढीको शेयरमूल्य पार गर्ने पहिलो चिप निर्माता कम्पनी बनेको छ । यस वर्ष टेस्ला र मेटाको शेयर  हालसम्म दोब्बरभन्दा बढीले बढेको छ। साेहि समयमा, माइक्रोसफ्टको शेयर ४० प्रतिशतले बढेको छ।

विश्वको सबैभन्दा महँगो हेडसेट ‘एप्पल भिजन प्रो’ जुन ५ मा सार्वजनिक

जुन ५ मा, एप्पलले संसारको सबैभन्दा महँगो मिक्स्ड रियालिटी हेडसेट 'एप्पल भिजन प्रो' सार्वजनिक गर्‍यो, जसको अनुमानित मूल्य तीन हजार ४९९ डलर लाख रूपैयाँ रहेकाे छ। त्यसपछि एप्पलले आफ्नो वार्षिक डेभलपर्स सम्मेलन -WWDC23 मा हेडसेट बाहेक अन्य धेरै उत्पादनहरू लन्च गरेकाे थियाे। यसपछि एप्पलको शेयरमा उछाल आएको हाे ।

एप्पलले मे महिनामा आफ्नो त्रैमासिक रिपोर्ट पनि सार्वजनिक गरेकाे थियाे । कम्पनीले आफ्नो आम्दानी र नाफा घटेको बताए पनि विश्लेषकको अपेक्षाभन्दा यो नतिजा राम्रो रहेको बताइएको छ । कम्पनीको वित्तीय नतिजा र स्टक बायब्याकको एक स्टेडी ट्र्याक रेकर्डले विश्वव्यापी आर्थिक अनिश्चितताको समयमा लगानीकर्ताहरूका बीचमा सुरक्षित लगानीकाे विकल्पका रूपमा यसको छविलाई बलियो बनाएको छ।

एप्पलको शेयर अपेक्षित आम्दानीको २९ गुणामाथि काराेबार

एप्पलको शेयरमा भर्खरैको र्यालीले कम्पनीको भविष्यको आयको लागि विश्लेषकहरूको अनुमानलाई पछि पारेको छ। रिफाइनिटिव डाटाका अनुसार, अहिले एप्पलको शेयर अनुमानित आम्दानीको २९ गुणा बढिमा काराेबार भइरहेको छ, जुन फेब्रुअरी २०२२ पछिको उच्च हो।

एजेन्सी ।


No comments

Powered by Blogger.