नेप्से सूचक २० प्रतिशत बढ्दा लगानीकर्ताले शतप्रतिशतसम्म नाफा कमाए, हाइड्रोपावर र बैंकिङ्गका लगानीकर्ता निरास
नेप्से सूचक २० प्रतिशत बढ्दा लगानीकर्ताले शतप्रतिशतसम्म नाफा गरेका छन्। पछिल्लो एक महिनामानै लगानीकर्ताले केही कम्पनीबाट शतप्रतिशतसम्म नाफा कमाएका हुन्।
जेठ १ गते यता नेप्से सूचक लगातार बढ्दो क्रममा छ। जेठ १ गते १८१८.३१ विन्दुमा रहेको नेप्से सूचक अहिले २२०० नजिक पुगेको छ।
मंगलबार नेप्से सूचक २१८६ विन्दुमा पुगेको थियो भने बुधबार २२०० विन्दु माथि पुगेर घटेको छ। मंगलबारसम्ममा नेप्से सूचक २०.२४ प्रतिशतले बढेको छ। यस अवधिमा हाेटल समूह सबैभन्दा धेरै बढेको छ भने बीमा कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण राम्रै देखिएको छ।
यस अवधिमा कारोबार रकममा पनि राम्रै बृद्धि देखिएको छ। जेठ १ गते ७० करोड रुपैयाँमा झरेको कारोबार रकम ६ अर्ब माथि पुगेको छ। यसले बजारमा लगानीकर्ताको संलग्नता बढ्दै गएको देखाउँछ।
नेप्से सूचक २० प्रतिशतले बढ्दा पनि केहि कम्पनीमा भने लगानीकर्ताले शतप्रतिशतसम्म नाफा कमाइसकेका छन्। तथ्याँक अनुसार होटल कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्।
विगत डेढ महिनामा सोल्टी होटलको शेयरमूल्य शतप्रतिशतभन्दा धेरैले बढेको छ। जेठ १ गते २५७ रुपैयाँ रहेको सोल्टी होटलको शेयरमूल्य मंगलबारसम्ममा प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको छ। यो भनेको १०१.५६ प्रतिशत बृद्धि हो। सोल्टी होटलमा लगानी गर्ने लगानीकर्ताले डेढ महिनामानै शतप्रतिशतभन्दा धेरै नाफा कमाएको देखिन्छ।
यसबाहेक तारागाँउ रिजेन्सी होटलमा लगानी गर्ने लगानीकर्ताले पनि झण्डै ७५ प्रतिशत नाफा कमाएका छन्। जेठ १ गते ४९५ रुपैयाँ रहेको तारागाँउ रिजेन्सी होटलको मूल्य मंगलबारसम्ममा प्रतिकित्ता ८६८ रुपैयाँ पुगेको छ। तारागाँउ रिजेन्सी होटल अझै केहि समय अघि देखिनै बढ्न थालेको हो। उसको पनि न्यून मूल्यबाट गणना गर्ने हो भने लगानीकर्ताले शत प्रतिशतभन्दा धेरै नाफा कमाइसकेका छन्।
केहि इन्स्योरेन्स कम्पनीमा पनि लगानीकर्तालाई राम्रो नाफा भएकाे देखिएको छ। यस अवधिमा प्रभु लाइफ इन्स्योरेन्स ७१ प्रतिशतले बढेको छ भने नेपाल इन्स्योरेन्स ६३ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्स ६१.८७ प्रतिशत र प्रभु इन्स्योरेन्स ५८.७४ प्रतिशतले बढेको छ।
- नेप्से बढे पनि केहि कम्पनीका लगानीकर्ता बने निरास
नेप्से सूचक बढे पनि केही हाइड्रोपावर कम्पनीका लगानीकर्ता भने निरास हुनु परेको छ। नेप्से सूचक २० प्रतिशतले बढ्दा केहि हाइड्रोपावर कम्पनीको शेयरमूल्य उल्टो घटेको छ।
तथ्याँक अनुसार पाँचथर पावर कम्पनीको शेयरमूल्य ८.७ प्रतिशतले घटेको छ भने अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ५.७३ प्रतिशत, माउन्टेन हाइड्रोको ४.४४ प्रतिशत र एनएमबि बैकको ०.०८ प्रतिशतले घटेको छ।
नेप्सेको पछिल्लो र्यालीमा वाणिज्य बैंक र हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य निकै कम बढेको छ। यसले गर्दा बैंक र हाइड्रोपावर कम्पनीमा लगानी गर्ने लगानीकर्ताले अन्य कम्पनीको तुलनामा कम नाफा कमाएका छन्।
Post a Comment