अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत
अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ समाधानको बाटो पहिल्याउँदै जानुपर्छ । हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौं । यो कालखण्डमा राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा धेरै पछाडि छौं ।’
‘आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छन् तर पूरा गरेका कुरा भने कम छन् । यस अर्थ असन्तुष्टि आउनु स्वभाविक हो । हामीले निर्णायक रुपमा सुधार गरेर लैजानुपर्छ । समग्र राज्य संरचना, आम नागरिक लगायत हामी सबैको सक्रियता जरुरी छ’, उनले भने ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा रहेको बताए । ‘केही ठाउँमा यसले अगुवाइ पनि गरेको छ, सबैको समन्वय र क्रियाशीलताले समस्या हामी न्यून गर्दै जान्छौं । समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौं ।’
‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौं, तर प्रगति पनि भएको छ । हामीले गत वर्षभन्दा ०.५२ प्रतिशत बढी उठाउन सक्छौं’ मन्त्री डा. महतले भने, ‘कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन । पूँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन ।’
‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन । जसले गर्दा भन्सार लक्ष्यअनुसार उठन सकेन । गैरकर गत वर्षभन्दा ११.८८ प्रतिशत बढी उठेको छ’ उनले भने, ‘जो सम्पन्न र कर तिर्नुपर्ने स्थितिमा छ उनीहरुलाई करको दायरामा ल्याएका छौं । यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौं ।’
आउँदो वर्ष अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा. महतले बताए । ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं ।’
क्षमताभन्दा पनि बढी हामीले सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाई छ । ‘पछाडि परेको समुदाय, जेष्ठ नागरिक लगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौं । यसबाट हामी पछाडि फर्किन सक्दैनौं । अब निर्णय गर्दा विचार गर्नुपर्छ । अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ ।
जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो, जसलाई आवश्यक पर्दैन, त्यहाँ हामीले थप खर्च गर्नुपर्दैन । यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रुपमा कार्यान्वयन गर्न सक्छौं ।’
उनले प्रशासनिक खर्च घटाउन समेत आग्रह गरे । डा. महतले भने, ‘साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं । बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ । यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं । यसो भयो भने श्रोत र साधनको हाहाकार रहँदैन ।’
Post a Comment