थप ३ कम्पनीले पाए आइपीओ बिक्री गर्ने अनुमति, ह्याथवेले प्रतिकित्ता ५० रुपैयाँमै जारी गर्ने


 काठमाडौं : नेपाल धितोपत्र बोर्डले थप ३ वटा कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, माण्डु हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरलाई आइपीओ बिक्री अनुमति दिएको हो । यसमध्ये ह्याथवे इन्भेष्टमेन्टले प्रतिकित्ता ५० रुपैयाँको दरमै आइपीओ बिक्री गर्ने भएको छ । 

बोर्डले ह्याथवेलाई प्रतिकित्ता ५० रुपैयाँको दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यता, माण्डु हाइड्रोपावरले भने आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रिमियम भाउमा आइपीओ बिक्री गर्न अनुमति पाएको छ । 
कम्पनीले १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरमा कुल १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यसमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसगरी, मिड–सोलु हाइड्रोपावरले पनि प्रतिकित्ता १०० रुपैयाँको दरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १४ लाख ९६ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । यसमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

No comments

Powered by Blogger.