रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन(RLFL)
असार १९ गते, मंगलबार, रिलायन्स फाइनान्स (RLFL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असार २० गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
फाइनान्सले असार ३१ गते, स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता ३७३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
Post a Comment