शेयर बजार बढ्दा लगानीकर्ता सँगै सरकार पनि नाफामा, जेठमा पूँजीगत लाभकर ९२ प्रतिशतले बढ्यो
शेयर बजार बढ्दा लगानीकर्ता सँगै सरकार पनि नाफामा, जेठमा पूँजीगत लाभकर ९२ प्रतिशतले बढ्यो
जेठमा शेयर बजार बढ्दा लगानीकर्ता सँगै सरकार पनि उल्लेख्य नाफामा देखिएको छ। जेठमा मात्रै सरकारले झण्डै डबल लाभकर प्राप्त गरेको छ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का अनुसार जेठमा सरकारले २५ करोड ९५ लाख २० हजार रुपैयाँ लाभकर प्राप्त गर्यो। जुन बैशाखको तुलनामा ९२.८२ प्रतिशत बढी हो। बैशाखमा सरकारले १३ करोड ४५ लाख ८८ हजार रुपैयाँ लाभकर प्राप्त गरेको थियो।
बैशाखको तुलनामा जेठमा शेयर बजार उल्लेख्य बढ्दा सरकारले बढी आम्दानी गरेको हो। जेठमा मात्रै शेयर बजार १२.१ प्रतिशतले बढेको थियो। बैशाख अन्तिममा १८२१.६५ अंकमा रहेको शेयर बजार मापक सूचक नेप्से बैशाख अन्तिममा २०४२.०७ अंकमा पुगेकाे थियो। जुन १२.१ प्रतिशत हो।
सूचक संगै कारोबार रकम समेत जेठमा उल्लेख्य बढ्यो। समग्र जेठमा ४८ अर्ब ५३ करोड रुपैयाँका शेयर किनबेच भए। जबकि बैशाखमा १५ अर्ब ९४ करोड रुपैयाँ बराबरका मात्रै शेयर किनेबेच भएका थिए। बैशाखको तुलनामा कारोबार रकम २०४.३३ प्रतिशतले बढेको थियो। जसका कारण सरकारले बढी लाभकर प्राप्त गरेको हो।
शेयर बजार बढ्दा लगानीकर्ताको शेयर मूल्य समेत बढ्दै जान्छ। जेठमा मात्रै लगानीकर्ताको सम्पत्ति तीन खर्ब रुपैयाँले बढेको थियो। बैशाखमा २६ खर्ब ५७ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण बढेर २९ अर्ब ८६ अर्ब पुगेको थियो। जुन १२.३६ प्रतिशतको बृद्धि हो। शेयर मूल्य बढ्दै गएपछि लगानीकर्तालाई नाफा हुन थाल्छ। नाफा हुँदै गएपछि लगानीकर्ताले शेयर बेच्दै जान्छन्। जसबाट सरकारले लाभकर प्राप्त गर्छ। सरकारले शेयर किनबेचको नाफामा तीन थरी लाभकर लिने गरेको छ। संस्थागत लगानीकर्ताले नाफामा १० प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्छ भने प्राकृतिक व्यक्तिले साढे सात प्रतिशत कर तिर्नु पर्छ। त्यसमा पनि एक बर्ष भन्दा कम अबधिको भएको साढे सात प्रतिशत र त्यो भन्दा बढी भए पाँच प्रतिशत मात्रै कर तिर्नु पर्छ। जसलाई सरकारले अल्पकालिन र दीर्घकालिन लाभकर भन्ने गरेको छ।
Post a Comment