चौथो त्रैमासमा बैंकहरुको निक्षेप सवा खर्बले बढ्दा कर्जा लगानी उल्टै घट्यो, ३ खर्ब बढी लगानीयोग्य रकम हुँदा छैन लगानी

 

चौथो त्रैमासमा बैंकहरुको निक्षेप सवा खर्बले बढ्दा कर्जा लगानी उल्टै घट्यो, ३ खर्ब बढी लगानीयोग्य रकम हुँदा छैन 

लगानी,



चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुस्त रहेको बैंकहरुको कर्जा लगानी चौथो त्रैमासमा झनै घटेको छ। चौथो त्रैमासमा तरलता बढ्दै गएपनि कर्जा लगानी भने बढ्न सकेको छैन।

गत चैत मशान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ८५ अर्ब रुपैयाँ थियो। असार १४ गतेसम्ममा उक्त निक्षेप १ खर्ब १४ अर्ब रुपैयाँले बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। 

निक्षेप संकलन १ खर्ब बढीले बढेको भए पनि कर्जा लगानी भने उल्टै घटेको छ। चैत मशान्तसम्ममा ४८ खर्ब ८६ अर्ब रुपैयाँ रहेको कर्जा लगानी असार १४ गतेसम्ममा ४८ खर्ब ५९ अर्बमा झरेको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २७ अर्बले घटेको हो।

चैत मशान्तसम्ममा ४८ खर्ब ३२ अर्ब रुपैयाँ रहेको बाणिज्य बैंकहरुको निक्षेप संकलन यस अवधिमा बढेर ४९ खर्ब ४३ अर्ब पुगेको छ। तर ४३ खर्ब ३० अर्ब रहेको कर्जा लगानी घटेर ४३ खर्ब १ अर्ब रुपैयाँमा झरेको केन्द्रिय बैंकको तथ्याँकले देखाउँछ। 

बैंकहरु अहिले कर्जा लगानी गर्न सहज अवस्थामा रहेको भए पनि नयाँ कर्जा सिर्जना हुन सकेको छैन। अहिले बैंकहरुको सिडि रेशियो हेर्दा बैंकहरु कर्जा लगानी गर्न सहज अवस्थामा नै देखिएका छन्। गत बिहीबारसम्मको तथ्याँक अनुसार बैंकहरुको सिडि रेशियो ८३.६२ प्रतिशत रहेको छ। अहिले बैंक तथा वित्तीय संस्थाको निक्षेप करिब ५६ खर्ब पुगेकोले हालको सिडि रेशियो अनुसार बैंक तथा वित्तीय संस्थासँग साढे ३ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएको छ। 

चालु आर्थिक वर्षको सुरुवातमा तरलता अभावले ९० प्रतिशत हाराहारी रहेको बैंकहरुको सिडि रेशियो अहिले घट्दो क्रममा छ। केहि बैंकको सिडि रेशियो ८० प्रतिशतभन्दा पनि तल झरेको छ।

बैंकहरुको सिडि रेशियो घट्दै जाँदा बैंकहरुको लगानी गर्न सक्ने पूँजी पनि बढ्दै गएको देखिन्छ। पछिल्लो समय निक्षेप संकलन बढिरहेको भए पनि कर्जा लगानी खासै बढेको छैन। बैंकहरु असुलीमा केन्द्रित भएको कारण अहिले कर्जा लगानी उल्टो घट्दो क्रममा छ। अहिले कर्जा लगानीको लागि बजारमा माग नै कम रहेको बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताउँछन्। उनका अनुसार बजारमा एकातिर कर्जाको माग कम रहेको र बैंकहरु समेत कर्जा असुलीमा कढी केन्द्रित हुँदा कर्जा लगानी बढ्न सकेको छैन्। तर केहि बैंकको पूँजीकोषमा दबाब पर्ने डरले कर्जा लगानीमा इच्छुक देखिएका छैनन्।

केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट असार मशान्तसम्म मात्रै ऋणपत्रलाई सिडीमा गणना गर्न पाउने व्यवस्था रहेको ऋणपत्रलाई पुस मशान्तसम्म सिडिमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ भने स्थानीय तहको ८० प्रतिशत रकम आगामी पुस मशान्तसम्म निक्षेपमा गणना गर्न पाइने भएको छ। यसले गर्दा बैंकहरुलाई थप लगानीयोग्य रकम प्राप्त भएको छ। 

  • मौद्रिक नीतिको लक्ष्य नभेटिने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२.६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको भएपनि हालसम्म लक्ष्यको ३ प्रतिशत पनि कर्जा लगानी हुन सकेको छैन। गत आर्थिक वर्षको अन्तिमसम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले असार १४ गतेसम्ममा ४३ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। राष्ट्र बैंकको लक्ष्य अनुसार चालु आर्थिक वर्षमा ५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा विस्तार हुनु पर्ने भए पनि हालसम्म १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी भएको अवस्था छ। अहिले चौथो त्रैमासमा पनि कर्जाको माग खासै नरहेको बैंकरहरु बताउँछन्।

गत आर्थिक वर्षको असार मशान्तसम्ममा बैंकहरुले ४५ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। हालसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ४९ खर्ब ४३ अर्ब पुगेको छ। यसअनुसार चालु आर्थिक वर्षमा बैंकहरुको निक्षेप संकलन ३ खर्ब ९८ अर्ब रुपैयाँले बढेको छ। 

अहिले सबैजसो बैंकसँग कर्जा लगानीको लागि पर्याप्त रकम छ। तर पनि बजारमा कर्जाको माग भने खासै बढेको छैन्। बैंकहरु अहिले कर्जा असुलीमा बढी केन्द्रित भएकोले पनि कर्जा लगानी निरन्तर घट्दै गइरहेको छ।

  • तरलता सन्तुलन राख्न राष्ट्र बैंकले तानेको रकम बजारै फर्कियो

राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएको भन्दै एक साता अघि ३० अर्ब तरलता बजारबाट तान्न खोजेको थियो। 

केन्द्रिय बैंकले असार ७ गते सात दिनको लागि १० अर्ब रुपैयाँ खिचेको थियो। त्यस्तै असार १० गते १६ अर्ब तरलता प्रशोचन गरेको थियो। 

केन्द्रिय बैंकले अधिक तरलता भएकोले एक सातामानै २ पटकसम्म रिपो जारी गरी तरलता प्रशोचन गरेको थियो। एक साताको लागि तानिएको उक्त रकम पुनःआइतबारबाटै बैंकिङ्ग प्रणालीमा फर्किएको छ। यसले गर्दा फेरि बैंकहरुमा अधिक तरलताको अवस्था सिर्जना भएको छ।


No comments

Powered by Blogger.