निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क करिब ६ प्रतिशतले बढ्यो, दुई कम्पनीको व्यवसाय भने खस्कियो
चालु आर्थिक वर्षको जेठसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५.९७ प्रतिशतले मात्रै धेरै हो । गत आर्थिक वर्षको जेठसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब १५ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको जेठसम्ममा सबैभन्दा धेरै ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १३.१५ प्रतिशत हो ।
कुल बीमाशुल्क आर्जनमा शिखरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । गत फागुन २९ गतेदेखि एकीकृत कारोबार थालेको सगरमाथा लुम्बिनीले यस अवधिमा ४ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ११.२९ प्रतिशत हो ।
यस्तै फागुन १७ गतेदेखि एकीकृत कारोबार थालेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ४ अर्ब १ करोड ७४ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमा शुल्कको ११.१० प्रतिशत हो ।
यस अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब १४ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ३ अर्ब ६ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सिलयले ३ अर्ब १ करोड रुपैयाँ, नेकोले २ अर्ब ६६ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ९० करोड ७५ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको २.५१ प्रतिशत मात्रै हुन आउँछ ।
राष्ट्रिय बीमा कम्पनीले व्यवसाय ३३ प्रतिशतले बढायाे
राष्ट्रिय बीमा कम्पनीले व्यवसाय बढाउनेमा आफुलाई शीर्ष स्थानमा राख्न सफल भएको छ । कम्पनीले यस अवधिमा सबैभन्दा धेरै ३३.०८ प्रतिशतले बीमाशुल्क बढाउदै २ अर्ब २६ करोड २३ लाख रुपैयाँ पुर्याएको हो ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
राष्ट्रिय बीमा कम्पनी पछि सानिमा जिआईसीको बीमाशुल्क १८.७५ प्रतिशतले बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यस्तै नेशनल इन्स्योरेन्सको १३.२२ प्रतिशत, अजोड इन्स्योरेन्सको ११.९० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १०.१३ प्रतिशत र प्रभु इन्स्योरेन्सको १०.११ प्रतिशतले बीमा शुल्क बढेको छ ।
सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । नेपाल इन्स्योरेन्सको बीमाशुल्क ०.२७ प्रशितले मात्रै बढेर १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यही अवधिमा नेकोले १ अर्ब ४० करोड ६५ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो ।
दुई कम्पनीको व्यवसाय भने खस्कियो
१४ निर्जीवन बीमा कम्पनीहरु मध्ये १२ वटाले आफ्नो व्यवसायलाई विस्तार गर्दा २ वटा कम्पनीको व्यवसाय भने खस्किएको छ । यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा शुल्क भने घटेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमाशुलक सबै भन्दा धेरै ३.७४ प्रतिशतले घटेर ४ अर्ब १ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४ अर्ब १७ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पनि २.२८ प्रतिशतले घटेर ४ अर्ब ८ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४ अर्ब १८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो ।
Post a Comment