दोस्रो चरणमा नयाँ ब्रोकर लाइसेन्स पाएका ११ मध्ये १० लाई नेप्सेले दियो एलओआई, एउटाले किन पाएन ?


 नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एलओआई) दिएको छ।

नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा अनुमति पाएका १० ब्रोकर कम्पनीलाई एलओआई दिएको हो। “हामीले १० ब्रोकर कम्पनीलाई एलओआई दिएका छौ” नेप्से सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले मेरो लगानीसँग भने।

दाहालका अनुसार एलओआई पाउनेहरूमा नयाँ एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज,इन्डेक्स सेक्यूरिटिज,शुभकामना सेक्यूरिटिज,मेगा स्टक मार्केट्स,हातेमालो फाइनान्सियल सर्भिसेस,मनि वर्ल्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे, सेक्युरिटिज,कलश स्टक मार्केट र नबिल सेक्युरिटिज छन्। उनीहरूलाई नेप्सेको कारोबार सदस्यताको लागि एलओआई दिइएको हो। उनीहरूलाई कारोबार प्रणाली सम्बन्धी प्राविधिक कुराहरू तयार गर्न भनिएको छ।

धितोपत्र बोर्डले भने दोस्रो चरणमा ११ ब्रोकर कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिएको थियो। त्यस मध्ये एक ब्रोकर कम्पनीले भने अझैसम्म नेप्सेमा सदस्यताको लागि निवेदन दिएको छैन। जसको कारण अहिले १० लाई मात्रै एलओआई दिइएको नेप्सेको भनाई छ। लाइसेन्स पाएर पनि नेप्सेको सदस्यताको लागि के.वि. एल. सेक्यूरिटिजले निवेदन नदिएको बताइएको छ।

यस अघि नेप्सेले सात ब्रोकर कम्पनीलाई एलओआई दिएको थियो। जसमा भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड छन्।

एलओआई पाउने सबैलाई तोकिएको प्राविधिक जनशक्ति भर्ना गर्न, डाटा सेन्टर तयार गर्न, टिएमएसको लागि व्याकअप तयार गर्न भनिएको छ। कारोबार विनियमावलीले तोकेको सबै मापदण्ड पुर्‍याएर सूचित गर्न आशय पत्रमा भनिएको छ। कति समयमा तयार गर्ने भन्ने विषय भने आशय पत्रमा उल्लेख छैन। नेप्सेका अनुसार जसले जति समयमा पेस गरे पनि हुने बताएको छ।

No comments

Powered by Blogger.