मर्जमा गएका बैंकहरु किन परे मारमा ? इपीएस स्वात्तै घट्दा बजार भाउ पनि २ सयभन्दा तलै


 

मर्जमा गएका बैंकहरु किन परे मारमा ? इपीएस स्वात्तै घट्दा बजार भाउ पनि २ सयभन्दा तलै

काठमाडौं : पछिल्लो समय पुँजी वृद्धिको असर बैंकहरुको प्रतिसेयर आम्दानी र सेयर मूल्यमा प्रस्टसँग देखिन थालेको छ । चुक्ता पुँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा यिनीहरुको प्रतिसेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको छ । सेयर संख्या धेरै भएकाले सेयर भाउ पनि सन्तोषजनक रुपले बढ्न नसकेको जानकारहरु बताउँछन् । 
अघिल्लो वर्ष नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या धेरै भएको भन्दै मर्जरमा जान निर्देशन दिएको थियो । यो निर्दैशन पछि बैंकहरुले मर्ज हुन वा गाभ्न–गाभिनका लागि धमाधम पाटर्नर खोज्न सुरु गरे । अहिले अधिकांश बैंकहरुले मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । 
२८ वाणिज्य बैंकको संख्या अहिले घटेर २१ मा झरेको छ । यता, सनराइज र लक्ष्मी बैंकले पनि मर्जर सम्झौता गरिसकेका छन् । मर्जर–एक्विजिसनपछि बैंकहरुको संख्या त घट्यो तर यिनीहरुको चुक्ता पुँजी भने निकै धेरै वृद्धि भइसकेको छ । राष्ट्र बैंकले बैंकहरु बलियो र मजबुत हुन्छन् भनेर मर्जरको नीति लिएको हो । 
तर बैंकहरुले भने पुँजी वृद्धि अनुपातमा व्यवसाय बढाउन सकेका छैनन् । मर्जमा गएका अधिकांश बैंकहरु हेर्दा पुँजी आकार निकै ठूलो भएको तर त्यस आधारमा अरु प्रमुख सूचकहरु भने कमजोर देखिएका छन् । नाफा, इपीएस, नेटवर्थ लगायतका सूचक पनि खासै आकर्षक देखिएका छैनन् । 
तर यिनीहरुको खराब कर्जा अनुपात (एनपीएल) भने पछिल्लो समय ह्वातै बढेको छ । आर्थिक मन्दीका कारण बैंकहरुले ऋणीहरुबाट कर्जाको साँवा–ब्याज समेत उठाउन नसकेको अवस्था छ । यता, चर्को ब्याजदरका कारण कर्जा विस्तार पनि भएको छैन । 
तर राष्ट्र बैंक भने अझै पनि पुँजी वृद्धिमै केन्द्रित भएको देखिन्छ । पुँजी बढाउन मात्र जोड दिंदा लगानीकर्ताले पाउने प्रतिफल दरका बारेमा भने नियामक तथा सरोकारवाला कहीँकतैबाट पनि खासै ध्यान नदिएको देखिन्छ ।
यस क्षेत्रका जानकारहरु पनि पुँजी वृद्धि गरेर मात्र कम्पनी सबल नहुने बताउँछन् । पुँजी वृद्धि भन्दा पनि नेटवर्थ, रिजर्भ, रिटेन्ड अर्निङलाई बलियो बनाउनुपर्ने उनीहरुको भनाई छ । 
बैंकहरुले क्यापिटल भन्दा पनि रिटेन्ड अर्निङ बढाउनुपर्ने एक जानकारले बताए । नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, ‘परिमाणत्मक भन्दा पनि गुणात्मक आम्दानी बढ्नुपर्छ।’ 
उनले भने, ‘थोरै क्यापिटल भएका बैंकहरुले अहिले पनि राम्रो गरेका छन् । तर पुँजी धेरै भएकाले भने राम्रो परफमेन्स गर्न सकेनन् । पुँजी बढेपछि सोही अनुसार आम्दानी पनि गर्न सक्नुपर्छ तर हाल त्यस्तो देखिएको छैन ।’ 
सेयरधनीलाई भएको रकम जति बोनस सेयर वितरण गरेर सोही अनुसार व्यापार वृद्धि गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुको लाभांश दर र प्रतिसेयर आम्दानी पनि घटेको उनको भनाई छ । 
त्यसो त, चालु आर्थिक वर्षको वैशाखसम्म तुलनात्मकरुपमा कम पुँजी रहेकै बैंकहरुको प्रतिसेयर आम्दानी पनि अब्बल देखिएको छ  । एनआइसी एसिया, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट लगायत कम पुँजी भएका बैंकहरुको प्रतिसेयर आम्दानी तुलनात्मकरुपमा राम्रो छ । तर धेरै पुँजी हुने बैंकहरुको भने इपीएस निकै कमजोर देखिन्छ । 
मर्जरमा गएका बैंकहरुको सेयर भाउ २ सय रुपैयाँ आसपासमै रुमलियो
  
मर्ज वा एक्विजिसनपछि कायम भएका अधिकांश बैंकको सेयर मूल्य २ सय रुपैयाँ तल वा आसपासमा देखिएका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश सस्तो कम्पनी पनि वाणिज्य बैंकहरु नै रहेका छन् । कुमारी, प्रभु, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ सय भन्दा कम भाउमा बजारमा खरिद गर्न सकिन्छ । 
नेप्से १९% ले बढ्दा बैंकिङ समूह जम्मा ५% ले मात्र वृद्धि भयो
पछिल्लो समय नेप्सेमा १९% वृद्धि आउँदा बैंकिङ समूह भने करिब ५% ले मात्र बढ्यो । अरु उप सूचकहरु १० देखि ६८% सम्म बढेका थिए । यसो हुनुको मुख्य कारण बैंकको सेयर संख्या धेरै हुनु नै रहेको जानकारहरुको भनाई छ । 
हाल २ वटा बैंकको पुँजी ३० अर्ब रुपैयाँमाथि पुगिसकेको छ । तर यिनीहरुको सेयर भाउ भने २ सय रुपैयाँभन्दा तल छ । लाभांश दर घट्दै गएको र सेयर संख्या भने धेरै भएकाले ट्रेडर र इन्भेष्टरहरुले यस्ता बैंकको सेयर खरिद गर्न खासै नरुचाएको देखिन्छ । तर बजारमा नयाँ प्रवेश गर्ने लगानीकर्ताले भने जोखिम कम लिनका लागि बैंक नै खरिदा गर्दा उत्तम हुने पुराना लगानीकर्ताहरु बताउँछन् ।
चुक्ता पुँजी वृद्धिको प्रक्रिया 
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २०७२ सालमा ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दियो । यिनीहरुले मर्ज भएर पुँजी बढाउँछन् भन्नेमा त्यतिबेला राष्ट्र बैंक विश्वस्त थियो । तर बैंकहरुले भने बोनस सेयर, एफपीओ र हकप्रद सेयर लगायतका औजार जारी गरेर पुँजी वृद्धि गरे । 
यता, अघिल्लो वर्ष केन्द्रीय बैंकले मर्जरको नीति लियो । बैंकहरु आफैले पाटर्नर खोजेर मर्ज नहुने हो भने फोर्स मर्ज गरिने भनेपछि उनीहरुले धमाधम एक आपसमा मर्जर वा गाभ्ने–गाभिने सम्झौता पनि गरे । अहिले अधिकांशले एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । मर्जपछि अधिकांश २० अर्ब भन्दा धेरै पुँजी भएको कम्पनी बनेका छन् । 
पुँजी वृद्धि भए पनि बैंकहरुको आम्दानीमा सन्तोषजनक सुधार भएको छैन । गुणात्मक वृद्धि भएको देखिदैन । उदाहरणका लागि ३५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ५ अर्ब नाफा कमाउँदा यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ हुन आउँछ ।
 यदि १० अर्ब चुक्ता पुँजी भएको बैंकले ३ अर्बमात्र नाफा कमायो भने यसको प्रतिसेयर आम्दानी ३० रुपैयाँ हुन्छ । अर्थात, कम पुँजी भएका कम्पनीमा लगानीकर्ताले धेरै लाभांश प्राप्त गर्ने सम्भावना रहन्छ । 
विश्वको चौथो मूल्यवान बैंकको चुक्ता पुँजी करिब १२ अर्बमात्र  रुपैयाँ 
छिमेकी देश भारतको एचडीएफसी बैंक विश्वको चौथो मूल्यवान बैंकको रुपमा स्थापित भएको छ । हाउजिङ डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (एचडीएफसी) लिमिटेड र यसको सहायक कम्पनी ‘एचडीएफसी बैंक’ एकआपसमा मर्ज भएपछि थप मुल्यूवान बनेको हो ।
 मर्जपछि बनेको एचडीएफसी बैंकको चुक्ता पुँजी भने जम्मा ११ अर्ब ९० करोड ६१ लाख रुपैयाँमात्र रहेको छ । अर्थात् निकै सबल यस कम्पनीको पुँजी भने निकै कम रहेको छ । 
यसको फेस भ्यालु भने जम्मा १ रुपैयाँ छ। एचडीएफसीको मार्केट भ्याल्यू करिब १७२ अर्ब डलर छ । यसको कुल सम्पति १८ लाख करोड भारतीय रुपैयाँ (भारु) छ । गत मार्चसम्मको तथ्यांक अनुसार नयाँ बनेको कम्पनीको व्यापारको आकार ४१ लाख करोड, नेटवर्थ ४.१४ लाख करोड र संयुक्त खुद नाफा ६ खर्ब भारु रहेको छ । 
यसको बजार मूल्य १७ सय भारतीय रुपैयाँ रहेको छ । यसले पनि कम पुँजीमै संस्था सबल बनाउन सक्यो भने लगानीकर्ताले मनग्ये लाभ लिन सक्छन् भन्ने देखाउँछ । तर यसले समय अनुसार पुँजी वृद्धि गर्दै जाने हो भने पनि सँगसँगै व्यापार विस्तार गर्न सक्नुपर्छ भन्ने सन्देश दिएको छ ।

No comments

Powered by Blogger.