हाइड्रोपावर कम्पनीमा हकप्रदको बाढी, आपूर्ति बढ्दा बढ्न सकेन शेयर मूल्य
हाइड्रोपावर कम्पनीले ऋण तिर्न हकप्रद निष्काशन गर्न दिने नीति ल्याएपछि हाइड्रोपावरहरुले धमाधम हकप्रद शेयर निष्काशन गर्ने घोषणा गर्न थालेका छन् । तीन वर्षे लकिङ पिरियड सकेर धमाधम संस्थापक शेयर नै साधारण शेयरमा परिणत भएका छन् ।
संस्थापक शेयर साधारण सरह कारोबार हुने भएपछि शेयरको आपूर्ति बढेर हाइड्रोपावरको शेयर मुल्य बढ्न सकेको थिएन । उल्टो हाइड्रोपावरको धमाधम हकप्रद निष्काशन गर्ने घोषणाले झनै आपूर्ति थपिने भयले हाइड्रोको शेयर मूल्य बढ्न नसकेको ऊर्जा उद्यमी ज्ञानेन्द्र लाल प्रधानले बताए ।
हाइड्रोपावर कम्पनीलाई अहिले सबैभन्दा ठूलो टाउको दुखाइ भनेको नै ऋणको व्याज बढ्नु हो । प्रायः हाइड्रोपावरमा स्वपुँजी भन्दा पनि ऋणको मात्रा अत्यधिक हुन्छ । चालु आवमा तरलता अभावको बहाना बनाएर बैंकहरुले ऋणको व्याज दर दोब्बर नै बनाए । हाइड्रोपावरको ऋण चुक्ता गर्ने प्रयोजनको लागि हकप्रद निष्काशन गर्न दिने भनेपछि धमाधम हाइड्रोपावर कम्पनीले हकप्रद घोषणा गर्न थालेका हुन ।
ऋण तिर्ने प्रयोजनको लागि नै हकप्रद निष्काशन गर्न सकिने व्यवस्थापछि धेरै हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेका छन् भने त्यसलाई नियमन आयोगले पनि तुरुन्तै सदर गर्ने गरेकाे छ । पछिल्लो समय नाम मात्रको नेटवर्थ भएको दिव्यश्वरी हाइड्रोपावरले समेत १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । दिब्यश्वरी हाइड्रोपावरको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार ६ रुपैयाँ ७३ पैसा मात्रै नेटवर्थ रहेको छ । बाराही हाइड्रो पावरले १ बराबर १, बरुण हाइड्रोपावरले १ बराबर १ र तेह्रथुम पावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेका छन् ।
नयाँ आयोजना बनाउने भन्दा पनि ऋण तिर्ने प्रयोजनकै लागि हकप्रद घोषणा गर्ने हाइड्रोपावर कम्पनी धेरै छन् । हालै आँखुखोला हाइड्रोपावरले १ सय ५० प्रतिशत, लिवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने घोषणा गरिसकेका छन् । हाइड्रोपावरले घोषणा गर्नासाथ नियामन आयोगबाट तुरुन्तै स्वकिृति दिने गरेको भए पनि धितोपत्र बोर्डले भने लामो समय लगाउने गरेको देखिएको छ । तथ्यांक अनुसार अहिलेसम्म नियमनले आयोगले चालु आवमा मात्रै ८ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिइसकेको छ । नियम आयोगका अनुसार अरुण काबेली पावर, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, अपि पावर, छ्याङदी हाइड्रोपावर र घलेम्दी हाइड्रोलाई हकप्रद निष्काशनको अनुमति दिइसकेको छ । नियमन आयोगले अनुमति दिएका मध्ये हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अपि पावर र अरुण काबेली हाइड्रोपावरलाई मात्रै नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनको स्वीकृति दिइसकेको छ ।
राधी जलविद्युत कम्पनीले १ः१.४७ को अनुपातमा १०० रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन नै गरिसकेको छ । नियमन आयोगबाट हकप्रदको स्वीकृति लिनुपर्ने प्रावधान आउनु अगाडि नै राधीले हकप्रद निष्काशनको अनुमति पाइसकेको थियो । अहिले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुला छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्दै कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबर संकलन गर्न हकप्रद निष्कासन गरेको हो ।
त्यस्तै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने मिति सार्वजनिक गरिसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि कम्पनीले असार २९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। अपि पावरले कम्पनी लिमिटेडले पनि ४०५ हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरिसकेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात असार २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् ।
अझै धितोपत्र बोर्डमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, छ्याङदी हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावरले आवेदन पेन्डिङ छ । हकप्रद माग गर्ने तीन कम्पनीमध्ये अपर तामाकोशीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।
Post a Comment