ब्याजदरमा भेदभाव : ठूलाले आधार दरमै पाउँदा सानाले भने अझै पनि तिर्दैछन् १५ प्रतिशत माथि, के भन्छ राष्ट्र बैंक ?
बैंक तथा वित्तीय संस्थाहरुले ठूला ऋणीको ब्याजदर धमाधम घटाए पनि सानाले भने अहिलेसम्म राहत पाउन सकेका छैनन् । बेस रेट घट्दै गर्दा नयाँ, ठूला र बार्गेनिङ गर्न सक्नेले मात्र ब्याजमा राहत पाएका छन् ।
पहुँच नभएका र साना ऋणीले भने अहिले पनि १५ प्रतिशत वा सो भन्दा पनि बढी ब्याजदर तिर्न बाध्य भएका छन् । साना व्यापारी र सर्वसाधारणले सामाजिक सञ्जालमा पनि छ्याप्छ्याप्ती यस्ता गुनासाहरु गरिरहेको देखिन्छ ।
पछिल्लो एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर भने ०.१०% ले घटेको छ । आधार दर घट्नुको अर्थ ब्याजदर पनि सस्तो हुँदै जानु हो ।
वाणिज्य बैंकहरुले जेठ महिनाका लागि निर्धारण गरेको आधार दरको तुलनामा असार महिनाको आधार दर ०.१०% ले घटेको उनीहरुले सार्वजनिक गरेको विवरणले देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा दिने गदर्छन् ।
तथापि, अधिक तरलताको अवस्था आएपछि बैंकहरुले आधार दरमै ठूला ऋणीहरुलाई ऋण दिन थालिसकेका छन् । तर साना ऋणीहरुले भने अहिलेसम्म राहतको अनुवभ गर्न पाएका छैनन् । यसआधारमा ब्याजदरमा भेदभाव भएको देखिन्छ ।
बैंकहरुले किन गर्छन् साना र ठूला ऋणीबीच भेदभाव ?
साना र ठूला ऋणीबीच हुने भेदभाव यो पहिलोपटक भने होइन । विगतदेखि नै अधिक तरलताको अवस्था आएपछि बैंक तथा वित्तीय संस्थाहरुले ठूला ऋणीहरुलाई बोलाएरै आधार दरमै अथवा त्यसमा सामान्यमात्रै प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएका छन् ।
बैंकहरुले आफूसँग भएको पैसा सुरक्षित रुपमा लगानी गर्नका लागि ठूला ऋणीलाई सस्तो ब्याजदरमा ऋण दिने गरेको पूर्व बैंकर भुवन दाहाल बताउँछन् । ‘बैंकहरुले आफूसँग भएको पैसा आइडल राख्नुभन्दा त्यसलाई चलायमान बनाउनका लागि आधार दर भए पनि कर्जा दिएको हुन सक्छ,’ उनले भने, ‘यो पहिलेदेखि चलिआएको स्वाभाविक प्रक्रिया पनि हो ।’
उनले यसअघि बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रहरुमा लगानी गरेर आम्दानी गरेको बताए । पछिल्लो एक महिनादेखि बैंक–वित्तीय संस्थाहरुमा पैसा थुप्रिएकाले पहुँचको आधारमा बैंकहरुले सस्तो ब्याजदरमा कर्जा दिएको उनको भनाई छ । बीचमा ट्रेजरी बिलको ब्याज उच्च हुँदा त्यहाँबाट पनि बैंकहरुले राम्रै आम्दानी गरेका थिए ।
तर, अहिले उक्त ब्याजदर घट्दोक्रममा छ । फलस्वरुपः बैंकहरुको आम्दानी पनि खस्कँदो क्रममा छ । उनले बेस रेट घटेसँगै पुराना ऋणीहरुको ब्याजदर पनि क्रमिक रुपमा घट्दै गएको बताए ।
यता, साना ऋणीलाई संरक्षण गर्नुपर्ने दायित्व भने केन्द्रीय बैंकको रहेको दाहालको तर्क छ । उनले भने, ‘साना ऋणीलाई केन्द्रीय बैंकले संरक्षण गर्नुपर्छ । केही हदसम्म अहिले केन्द्रीय बैंकले साना ऋणीलाई संरक्षण गरेको पनि छ ।’
ब्याजदरमा एकरुपता ल्याउन व्यवसायीको पनि माग
यसरी, बैंकहरुले ठूला र साना ऋणीहरुबीच भेदभाव गरिरहँदा व्यवसायीले भने ब्याजदरमा एकरुपता ल्याउनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले ठूला, मझौला, साना व्यवसाय गर्ने सबै व्यवसायीलाई एउटै ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने बताएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल अहिलेको ब्याजदर धेरै भएका कारण व्यवसायीहरुले कर्जा लिन नसकेको नेपाली पैसालाई बताए ।
‘अझै बैंकहरुको कर्जाको ब्याजदर उच्च छ’ उनले भने, ‘त्यही भएर व्यवसायीले कर्जा लिन सकेका छैनन् ।’ अहिले केही ठूला ऋणीले सस्तो ब्याजदरमा कर्जा लिएको बताउँदै उनले कर्जामा एकरुपता ल्याउन आवश्यक रहेको बताए । आधार दरमा २% सम्म मात्रै प्रिमियम थप गरेर कर्जा लिन पाउने व्यवस्था गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकसँग उनले आग्रह पनि गरे ।
ब्याज दरलाई सन्तुलनमा राख्न के गर्दैछ केन्द्रीय बैंक ?
व्यवसायीहरुले ब्याजदरमा एकरुपता कायम गर्नुपर्ने बताइरहँदा केन्द्रीय बैंकले भने ब्याजदर निर्धारण गर्ने काम केन्द्रीय बैंकको नभएको बताएको छ । केन्द्रीय बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘ब्याजदर सन्तुलन र व्यवस्थित गर्ने काम राष्ट्र बैंकको हो । यसका लागि राष्ट्र बैंकले बेस रेट, इन्ट्रेस्ट रेट करिडोरको व्यवस्था गरेको हो ।,’
साथै, साना ऋणीलाई सहज गरिदिन केन्द्रीय बैंकले ५ करोड रुपैयाँसम्मको विभिन्न निजी क्षेत्रमा जाने कर्जामा बेस रेटमा २% सम्म मात्र प्रिमियम लिन पाउने व्यवस्था गरेको उनले जानकारी दिए । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले बैंक दरलाई ८.५% बाट घटाएर ७.५% कायम गरेको उल्लेख गर्दै क्रमीक रुपमा ब्याजदर घट्दै जाने बताए ।
बैंक तथा वित्तीय संस्थामा कति छ अधिक तरलता ?
केन्द्रीय बैंकको शुक्रबारसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा साढे १७ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । पछिल्लो समय बैंक–वित्तीय संस्थामा अधिक तरलता बढ्दो अवस्थामा रहेको छ भने सीडी रेसियो, अन्तर बैंक ब्याजदर लगायतका सूचक घट्दै गएको छ ।
केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक–वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्ब निक्षेप छ भने ४८ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै, सीडी रेसियो ८३.६२% छ भने अन्तर बैंक ब्याजदर ५% रहेको छ ।
Post a Comment