आइएमई लाइफ इन्सुरेन्सको प्रिमियम आइपीओमा आवेदन दिनु अघि अध्ययन गरौं कस्तो छ कम्पनी, कहाँ–कहाँ हुँदैछ लगानी ?


  आइएमई लाइफ इन्सुरेन्सले बुधबार असार २० गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आइपीओ बिक्री गरिसकेको छ । यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । 

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दैछ । यसमध्ये १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५% अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 
सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २४ गतेसम्म आवेदन दिन  सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 
कस्तो छ रेटिङ ?
केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।
कति कित्ताका लागि दिने आवेदन ?   
आइएमई लाइफ इन्सुरेन्सको आइपीओ पाउन पनि लगानीकर्ताले भाग्यकै निर्भर रहनु पर्ने हुन सक्छ । प्रिमियम भाउमा आइपीओ निष्कासन हुन लागेको भए पनि पछिल्लो समय इन्सुरेन्स कम्पनीहरुमा दोस्रो बजारमै पनि लगानीकर्ताको आकर्षण बढिरहेको छ । यसर्थ, दोस्रो बजारमा भन्दा केही सस्तोमै सेयर पाउने मौका रहेकाले माग भन्दा धेरै आवेदन पर्ने अनुमान गर्न सकिन्छ । 
कम्पनीले सर्वसाधारणका लागि ९६ लाख सेयर निष्कासन गरेकाले छ । यस कम्पनीको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ९ लाख ६० हजार जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हाजर कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।  
कम्पनी सम्बन्धी विवरण  
आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ तथा बिमा ऐन २०७९ (तत्कालीन बिमा ऐन २०४९) अन्तर्गत स्थापित भएको कम्पनी हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं २६ लैनचौरमा रहेको छ । 
आइएमई इन्सुरेन्स २०६४ साल असोज १५ कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । यसले २०७४ असार २० गते जीवन बिमा कम्पनीको रुपमा वित्तीय कारोबार गर्न तत्कालीन बिमा समितिबाट इजाजत पाएको थियो भने औपचारिक रुपमा २०७४ भदौ १ गतेदेखि कारोबार सुरु गरेको थियो । 
हाल यस इन्सुरेन्सले ८३ वटा शाख कार्यालय र ५७ वटा उपशाखा कार्यालयबाट सेवाग्राहीलाई सेवा दिंदै आएको छ । साथै, नेपाल बिमा प्राधिकरणबाट १ वटा शाखा कार्यालय र ८ वटा उपशाखा कार्यालय खोल्न अनुमति पाएको छ । आवश्यकता अनुसार नेपाल बिमा प्राधिकरणको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण 
आइएमई लाइफ इन्सुरेन्सको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ४ अर्ब रुपैयाँ छ । जारी पुँजीमध्ये २ अर्ब ८० करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँको आइपीओ जारी गर्न लागिएको हो ।आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात ४ अर्ब रुपैयाँ पुग्नेछ । 
आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ७०% र सर्वसाधारण हिस्सा ३०% हुनेछ । आइपीओ निष्कासनपश्चात कम्पनीको सेयर प्रिमियम खातामा १ अर्ब ५६ करोड १२ लाख ७१ हजार रुपैयाँ जम्मा हुनेछ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म आइएमई लाइफले ३७ करोड ८४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०८०–८१ मा ४८ करोड ३८ लाख ३५ हजार रुपैयाँ र आव २०८१–८२ मा ६२ करोड ५२ लाख ५१ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ । 
आइपीओ बिक्रीपछि चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । यसआधारमा नियामक नेपाल बिमा प्राधिकरणको निर्देशन अनुसार ५ अर्ब पुँजी पुर्याउन अझै १ अर्ब आवश्यक हुने देखिन्छ । कम्पनीले विवरणपत्रमा भने चालु आर्थिक वर्षभित्रै ५ अर्ब पुँजी पुर्याउने प्रक्षेपण गरेको भए पनि सम्भव हुने देखिँदैन । आव २०८१–८२ सम्म ५ अर्ब रुपैयाँ पुँजी नै यथावत् हुने प्रक्षेपण गरेको छ । 
यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५७ पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०८०–८१ मा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६८ पैसा र आव २०८१–८२ मा १२ रुपैयाँ ५१ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ र आव २०८१–८२ मा १६२ रुपैयाँ ३९ पैसा पुग्ने अनुमान रहेको छ ।
आइपीओ बिक्रीबाट प्राप्त पुँजीको उपयोग 
आइपीओबाट प्राप्त पुँजी कम्पनीको व्यावसायिक प्रयोजनमा उपयोग गरिने विवरणपत्रमा उल्लेख छ । यसैगरी, नेपाल बिमा प्राधिकरणबाट जारी गरिएको नयाँ लगानी नीतिले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरु तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा लगानीको अवसर प्रदान गरेकाले त्यस्ता क्षेत्रहरुमा लगानी विस्तारका लागि उक्त रकमको उपयोग गरिने कम्पनीले जनाएको छ ।
प्राप्त हुने पुँजीमध्ये नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा ११ करोड ५५ लाख ६० हजार रुपैयाँ लगानी गर्नेछ । यस्तै, बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड ८६ लाख ५४ हजार रुपैयाँ, ऋणपत्रमा ५६ करोड ३० लाख रुपैयाँ लगानी हुनेछ । यस्तै, संगठित संस्थाहरुको साधारण सेयरमा ६ करोड ९३ लाख ३६ हजार रुपैयाँ लगानी गर्ने कम्पनीको योजना रहेको छ । 
साथै, नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा ३ करोड ६२ लाख २४ हजार रुपैयाँ, कृषि उत्पादन, सौर्य उर्जा लगायत नवीकरण उर्जा परियोजनामा ५ करोड र शाखा विस्तारमा ८० लाख रुपैयाँ खर्च गर्ने योजना रहेको जानकारी गराइएको छ । 
प्रमुख कार्यकारी अधिकृत र आधारभूत सेयरधनीहरु 
आइएमई लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतको पद कवि फुयाँलले सम्हालेका छन् । उनको शैक्षिक योग्यता स्नातकोत्तर रहेको छ । उनीसँग बैंक तथा वित्तीय संस्थाहरुमा लामो समयसम्म काम गरेको अनुभव छ । यस कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रामहरि अर्याल रहेका छन् । यो कम्पनीमा उनको ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

No comments

Powered by Blogger.