सञ्चालनको अन्तिम तयारीमा ‘नेप्से–३० इन्डेक्स’, कस्ता–कस्ता कम्पनीको कारोबार हुँदैछ ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । नेप्से ३० इन्डेक्स सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको नेप्सेको भनाई छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्से–३० इन्डेक्सको सम्पूर्ण तयारी सकिएको नेपाली पैसालाई बताए ।
‘नेप्से–३० इन्डेक्सको सम्पूर्ण तयारी पूरा भएको छ’ उनले भने, ‘अब सञ्चालक समितिबाट पारित भएपछि यो कार्यान्वयनमा आउने छ ।’ उनले सञ्चालक समितिले नै नेप्से–३० इन्डेक्स कहिलेबाट सञ्चालमा ल्याउने भनेर मिति तोक्ने जानकारी दिए ।
निश्चित मापदण्डसहितका कम्तिमा ३० कम्पनीको मात्रै कारोबार प्रतिबिम्बित हुने गरी यस्तो सूचक तयार गरिएको हो । नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबार योग्य उपकरण प्राप्त हुने नेप्सेको भनाई छ ।
यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै भविष्यमा डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड (इपीएफ) सञ्चालन लगायतमा पनि सघाउ पुर्याउने नेप्सेले बताएको छ ।
कस्ता–कस्ता कम्पनी नेप्से ३० इन्डेक्समा राखिन्छ ?
नेप्सेले प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष लगातार खुद नाफामा रहेका कम्पनीलाई नेप्से ३० मा राख्ने जनाएको छ । साथै, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १०% रहेको र त्यही वर्षको मूल्य वृद्धिदरभन्दा बढी भएको कम्पनीहरुलाई यो इन्डेक्स गणनामा समावेश गरिनेछ ।
त्यस्तै, कुनै पनि कम्पनीको कम्तिमा २५% सेयर सर्वसाधारणमा जारी भएका वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरु (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको सेयरहरुको बजार पुँजीकरण १% भन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
साथै, यी कम्पनीमा सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने व्यवस्था गरिएको छ । पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको सेयर कारोबार भएको पनि हुनुपर्छ ।
दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुनेछन् । यसैगरी, पछिल्लो ६ महिनाको कारोबार दिनहरुमध्ये ७५% दिनमा कारोबार भएको हुनुपर्छ ।
नेप्से ३० इन्डेक्सको गणना विधि
यसरी कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८–८ वटा कम्पनी छानिने छन् । समूहगत परिसूचकमा सूचीकृत कम्पनीको संख्या ८ भन्दा कम भएमा विधि अनुसार उपलब्ध सबै कम्पनीलाई सो इन्डेक्समा समावेश गरिने छ ।
यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरुलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ । तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ ।
छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा वा प्रत्येक समूहबाट ८ भन्दा बढी कम्पनी छनोट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याइने नेप्सेले जनाएको छ ।
यो इन्डेक्समा रहेका कम्पनीहरु हरेक वर्ष दुई पटक पुनर्मूल्यांकन हुनेछन् । हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार यसरी पुनर्मूल्यांकन गरेर कम्पनी परिर्वतन गरिने नेप्सेका प्रवक्ता पारजुलीले बताए ।
उनले नेप्से सञ्चालक समितिले कुनै परिवर्तन गरेन भने यसै विधि अनुसार नेप्से ३० इन्डेक्स सञ्चालनमा आउने जानकारी दिए । ‘यही विधि अनुसार नेप्से ३० इन्डेक्स नेप्सेको सञ्चालक समीतिमा पेश हुने तयारीमा छ’ उनले भने, ‘यसमा सञ्चालक समितिले कुनै परिवर्तन गरेन भने यसै अनुसार सञ्चालनमा आउने छ ।’
भारतमा कस्तो छ एसएमई सूचक गणना र अवस्था ?
छिमेकी देश भारतले साना तथा मझौला उद्योगहरुको प्रदर्शन मापन गर्न सन् २०१२ देखि नै एसएमई इन्डेक्सको सुरुवात गरेको थियो । भारतले सन् २०१२ को मार्च ३० देखि एसएमई प्लेटफर्म सुरु गरेको हो । बम्बे स्टक एक्सचेन्ज (बीएसई) को एसएमई प्लेटफर्ममा स्थापनायतः ४४२ वटा कम्पनीहरु सूचीकृत भएका छन् ।
अहिले भने २६६ वटा कम्पनीहरु सूचीकृत रहेका छन् । जसमध्ये २८८ वटा कारोबारयोग्य रहेका छन् । हालसम्म सूचीकृतमध्ये १७६ वटा कम्पनीहरु बीएसईको प्रमुख सूचक सेन्सेक्समा माइग्रेट भएका छन् ।
एसएमई प्लेटफर्म स्थापनायता सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण ७ खर्ब ३० अर्ब भारतीय रुपैयाँ भन्दा बढी पुगेको छ । हाल सूचीकृत रहेका कम्पनीहरुको बजार पुँजीकरण भने २ खर्ब २० अर्ब भारु बढी रहेको छ ।
प्लेटफर्म स्थापनायता एसएमईहरुबाट ५२ अर्ब ७ करोड भारु भन्दा बढी पुँजी उठिसकेको छ । सन् २०२२ मा एमएमईमा सूचीकृत कम्पनीहरुले १७००% सम्म प्रतिफल दिएको एक तथ्यांकले देखाएको छ ।
Post a Comment